जनता समाजवादी पार्टीको दुवैपक्षका निर्णय निर्वाचन आयोगद्वारा खारेज (भिडियोसहित)

जनता समाजवादी पार्टीको दुवैपक्षका निर्णय निर्वाचन आयोगद्वारा खारेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

मंगलबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टीका दुुवै पक्षका पत्र एक साथ खारेज गरेर पुनः प्रक्रिया पुर्याएर आउन पत्राचार गरेको छ। आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र खारेज गरिदिएको हो । यसैबीच आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर पनि माग गरेको छ। यादवलाई पार्टीबाट निष्कासन गरिएको जानकारीसहितको पत्र बुझाए पनि कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर नबुझाएकाले आयोगले हस्ताक्षर माग गरेको हो। 

सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा चुरेक्षेत्र उत्खनन् गरेर ढुङ्गा, गिट्टी, बालुवाजस्ता वस्तु भारत निकासी गर्ने नीति सार्वजनिक गरेसँगै त्यसको व्यापक आलोचना बढेको छ। विशेष गरेर विपक्षी दलहरूले गिटी, बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्य राष्ट्र र जनता विरोधी हुने भन्दै तुरुन्त खारेज गर्न मागसमेत गरेका छन् । यसले चुरे क्षेत्रको विनास हुनुका साथै पर्यावरणीय हिसाबमा पनि यो घातक हुने आलोचकहरूको भनाइ छ। यता, आजै अर्थ मन्त्रालयले चुरेक्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न सरकार प्रतिबद्ध भएको भन्दै पर्यावरणीय सन्तुलतमा सरकार सचेत रहेको स्पष्टिकरण जारी गरेको छ। 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। बैठकले किराना पसल, डिपार्टमेन्ट स्टोर र स्टेशनरी पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ। यस्तै, तरकारी, फलफूल, दुध, मासु र ग्यासको पसल पनि बिहान ९ बजेसम्म खोल्न दिइनेछ । यसैगरी, निजी तथा सार्वजनिक निर्माणको काम गर्न दिने तर काम गर्दा मानिसभित्रै बस्नुपर्ने मापदण्ड बनाइएको छ। यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदै थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न मन्त्रालयले निर्र्देशन दिएको हो। यस्तै सरकारले जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको हो। 

कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत भोलि अर्थात् बिहीबार नेपालले पहिलो खेलमा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ। ताइपेइसँगको अघिल्लो प्रतिस्पर्धामा रोमाञ्चक जीत निकालेको नेपालले बिहीबार पनि जीत निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवित राख्ने लक्ष्य तय गरेको छ। तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ। यद्यपि नेपालले खेलमा जीत निकालेर अघिल्लो नतिजालाई निरन्तरता दिनेमा आशा गरिएको छ। 

Logo