नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भर्चुअलमार्फत सम्पन्न भएको छ।
आज बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष केपी ओलीले वार्ताका नाममा आफूहरुलाई ‘खेलाउन खोजेको’ निष्कर्ष निकालेको छ।
केन्द्रीय कमिटी बैठकमा संस्थापन पक्षसँग संवादमा नेताहरुले ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको ‘ब्रिफिङ’ गरेका छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिएको थियो।
पार्टी अध्यक्ष ओली पक्ष र माधव झलनाथपक्षमा विभाजित नेकपा एमाले अहिले आफ्नै आन्तरिक टसलमा रुमलिरहेको छ।
माधव पक्ष फागुन २८ को निर्णय फिर्ता गराउन चाहन्छ भने ओली पक्ष माधव नेपाललाई पेलेर जान चाहन्छ।
पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग वार्तामा थिए।
वार्तामा बसेका नेताहरुको ब्रिफिङ सुनेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो भनाइ राखेका थिए।
खनालले अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हतार गरिहाल्न नहुने बताएका माधव पक्षीय नेता सोमप्रसाद पाण्डेले बताए।
बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले पनि अझै केही समय ‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो गर्न नहुने राय दिएको उनले बताए।





























प्रतिक्रिया