कोरोनाविरूद्ध खोप आपूर्तिमा सरकारको सक्रियता, आलोचना पनि उस्तै

कोरोनाविरूद्ध खोप आपूर्तिमा सरकारको सक्रियता, आलोचना पनि उस्तै

केन्द्रबिन्दु
0
Shares

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन्। कोरोना भाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेका बेला प्रधानमन्त्री ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन्।

ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्। कुराकानीमा ओलीले भने, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न आग्रह गर्दछु।’

नेपालमा विशेष गरेर मे महिनामा एकाएक कोरोना भाइरस पुष्टि हुनेको सङ्ख्या बढेको थियो। सो महिनामा मात्र चार हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाए। छिमेकी मुलुक भारत जस्तै नेपालले पनि अस्पतालका शय्या र अक्सिजनको आपूर्ति अभावसँग जुझिरहेको छ। राजधानी काठमाडौं जस्ता केही ठाउँमा अवस्था केही सामान्य भएपनि यतिखेर संक्रमण नेपालका गाउँ गाउँ पुगेको छ। 

नेपालमा फेब्रुअरी महिनाको सुरुमा दैनिक संक्रमित एक सयको हाराहारीमा फेला पर्दा मे महिनाको सुरु तिरै उक्त सङ्ख्या दैनिक नौ हजारतिर पुग्यो। यसरी कोरोनाको दोस्रो लहरले नेपाल आक्रान्त बन्दै जाँदा ५ हप्ताअघिबाट नेपाल निषेधाज्ञासँग जुधिरहेको छ। 

नेपालमा भारतसँगको रहेको खुला सीमाका कारण त्यहाँ रहेका श्रमिकहरू घर फर्कँदा भारतमा देखा परेको डेल्टा भाइरस छिट्टै नेपालमा फैलिएको आलोचकहरू बताउँछन्। यसरी सरकारले देशमा निषेधाज्ञा जारी गर्न ढिलो गर्दा संक्रमणको भयानक अवस्था झेल्नु परेको अधिकांशको टिप्पणी छ। 

यस्तो अवस्थामा अब सरकारले सबै नागरिकलाई खोपको आवश्यकता रहेको औंल्याइरहेको छ। तर देशमा राजनैतिक अस्थिरताले गिजोलिरहेका बेला सरकारले खोपको आपूर्तिमा उती ध्यान नदिएको अधिकांशको बुझाई छ । यद्यपि नेपालले हालसम्म भारतसँग खरिद गरेको १० लाख डोज र विभिन्न अनुदानबाट प्राप्त खोप गरि करिब ३ प्रतिशत भन्दा कम नागरिकलाई मात्र खोप लगाएको छ। 

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफूलाई बेलायत सरकारबाट खोप चाहिएको बताएका छन्। उनले यदि हामीले मानिसहरूलाई खोप दिन सक्यौँ भने कोभिड–१९ नियन्त्रण गर्न सक्छौँ अन्यथा हामीलाई कठिन हुने बताएका छन्। नेपालमा ठूलो संख्यामा जेष्ठ नागरिकहरू दोस्रो डोजको भ्याक्सिनको पर्खाइमा छन्। 

पछिल्लो महिना प्रधानमन्त्री, राष्ट्रपतिसहित विभिन्न तवरबाट सरकारले खोपका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्दै आएको छ। परिणामतः चीनले केहिदिन अघि १० लाख डोज खोप अनुदानमा दिएको थियो भने, अमेरिकाले पनि केही मात्रामा खोप उपलब्ध गराउने जनाएको छ। यस्तै भारतले पनि खरिदपछि दिन बाँकी १० लाख डोज खोप प्राथमिकताकासाथ उपलब्ध गराउने भनेको छ। सरकारले नयाँ बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई ठूलो रकम छुट्याएको छ। तर, उपलब्धी परिणाममुखी नभइरहँदा ओली सरकारले ठूलो आलोचना भोग्दै आएको छ। 

Logo