नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री तामाङ

नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री तामाङ

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताएका छन्। 

मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने जानकारी दिए। निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसँगको छलफलबाट टुङ्ग्याइने उनले बताए। 

“हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तराष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौं ” उनले भने, “हामी अध्ययनमा सफल भयौं भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौं।” स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताए। “मानिस जन्मनासाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै बिधि हामीले बनाउँछौं, ” उनले भने, “ स्वास्थ्य परिचय पत्र अनुसार स्वास्थ्यसँग सम्बन्धित सबै उपचार पाउने गर्दछ।”

मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी दिए। तेस्रो लहरले बालबालिकालाई सङ्क्रमण गर्ने विज्ञले उल्लेख गरेका छन्। 

उनले सातै प्रदेशमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरसहितको बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताए। उनले आगामी वर्षभित्र ३९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आगामी असारभित्र वोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया बढाइने बताए। उनले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताए। 

“कोरोनाविरुद्धको लडाई लडेर जनतालाई कोरोनामुक्त गराउने मेरो प्राथमिकता हुनेछ,” उनले भने, “ यस लडाईंमा सबको उत्तिकै जिम्मेवारीको साथै सहयोग हुनुपर्दछ।” उनले कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा श्यया, आइसियू र भेन्टिलेटर थप गरिने समेत जानकारी दिए। मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने जानकारी दिए। यसका लागि  उत्पादक मुलुकसँग छलफल भइरहेको उनले बताए।

उनले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कोभिड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र गराउन निर्देशनसमेत दिने जानकारी दिए। उनले मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।रासस

Skip This
Skip This
Logo