हामीले हरेकदिन केन्द्रबिन्दु समाचार प्रस्तुत गर्दै आएका छौं। आज पनि दिनभरिका प्रमुख समाचारहरु प्रस्तुत गरेका छौं।
आजका समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ । यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ । यसैबीच, प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश गरेको छ।
विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो । सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको अनुमानभन्दा करीव आधा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने बताएको हो । सरकारले आगामी आव २०७८/७९ को बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।
सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल आइपुगेको छ। नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउने तय भएको थियो। सोही बमोजिम मल नेपाल आएको हो। अब, बाँकी मलपनि चाँडै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जानकारी दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली खेलाडीले पाउने भत्ता रकम निर्धारण गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार र टी–ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने भएका छन् । क्यानको नयाँ कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र एक लाख दिने निर्णय गरेको छ । अब क्यानको बन्द प्रशिक्षणमा परेका खेलाडीले समेत प्रति दिन पाँच सयको दरले भत्ता पाउने क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले हाल बेला अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक मानिएको छ।





























प्रतिक्रिया