हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सांसद थापा हालै गण्डकी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने मतदानमा तटस्थ बसेका थिए । विपक्षमा भोट हाल्ने पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले कारवाहीका लागि पत्र पठाएपछि प्रदेशसभाले उनलाई सांसदबाट हटाएको थियो । सर्वोच्चको सोमबारको आदेशपछि बाग्लुङमा अर्को निर्वाचन गर्नुपर्ने आवश्यकता विकसित भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खोल्ने वित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। यस्तै मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि पनि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन्। मन्त्री नेम्बाङले यातायात व्यवस्था विभागलाई पनि परिणाममुखी काम गर्न आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्याङ्कक अनुसार नेपालको निर्यातदरमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२ प्रतिशतले वृद्धि भएको तथा आयातदरमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २२.३ प्रतिशतले वृद्धि भएको देखाएको छ। यस्तै तथ्यांकले व्यापार घाटामा पनि वृद्धि भएको तथ्यांकले देखाएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार १० महिनाको अवधीमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ८ खर्व ९ अर्ब ८९ करोड पुगेको पनि देखाएको छ।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर केहि निष्क्रिय बन्दै गएको छ। जसअनुसार सोमबारको तथ्यांक हेर्दा संक्रमणदर २० प्रतिशतभन्दा कम देखिएको छ। यस्तै नेपालमा मृत्युदर पनि कम हुँदै गएको तथ्यांकले देखाएको छ। यसैबीच काठमाडौं महानगरपालिकामा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः शुरु भएको छ ।
युरो २०२० अन्तर्गत सोमबार राति तीन खेल हुँदैछन् । जसमा पहिलो खेलमा समूह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र भिड्दैछन् । यस्तै आजै हुने दोस्रो खेलमा पोल्यान्डले स्लोभाकियाको सामना गर्नेछ भने आजै राति हुने अन्तिम खेलमा भने ३ पटकको च्याम्पियन स्पेनले स्वीडेनको सामना गर्दैछ । नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने खेल स्पेनको सेभियामा हुँदैछ ।





























प्रतिक्रिया