हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि उनको परिवारले भारतको नयाँदिल्ली लगेको छ। सोमबारदेखि अस्पताल भर्ना भएका खनालको फोक्सोमा पानी जमेको देखिएको तथा त्यसको असरले अक्सिजनको कमी देखिएको र त्यहीकारण उनलाई अक्सिजनकै सपोर्टमा राखेर अस्पतालले उपचार गराइरहे पनि थप उपचारका लागि दिल्ली लगिएको हो। यसैबीच नेता खनालले जाँदा जाँदै नेकपा एमालेलाई मिलाएर अघि बढ्न महासचिव ईश्वर पोखरेलमार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। खनालको यो आग्रहले बुधबार नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वमा नयाँ टिवस्ट आउने अपेक्षा गरिएको छ।
नेपालमा यस वर्षको मनसुन सुरुभएसँगै भएको अविरल बर्षाका कारण देशका विभिन्न स्थानको जनजीवन कष्टकर बनेको छ। सिन्धुपाल्चोक जिल्लामा वर्षा पछिको बाढी र पहिरोले ७ जनाको ज्यान लिएको छ भने, अझ केही हराइरहेको अवस्था छ। यस्तै मनाङ, लमजुङ, म्याग्दी लगायतका जिल्लामा पनि वर्षापछिको अवस्था कठिन बनेको छ। बर्षाका कारण देशभरका साना ठूला नदीमा पानीको वहाव बढेको छ भने, पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका चुरेपर्वतमा साना–ठूला पहिरोले जनजीवन असहज बनाएको छ। यद्यपि उद्धार र राहतका लागि सरकार, सुरक्षा निकाय सहित विभिन्न राजनीतिक दलहरूले सक्रियता बढाएका छन्। यता, मनसुनको सुरुवाती अवस्थामै सुरक्षित क्षेत्र पहिचान गरि जोखिमका वस्ति स्थानान्तरण गर्न विज्ञहरूको सुझाव छ ।
मंगलबार नेपाल धितोपत्र बोर्डले लगानीको लागि जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि बुधबार शेयर बजारमा पहिरो गएको छ। पछिल्लो केहि समयदेखि लगातार बढ्दो क्रममा रहेको बजार मंगलबार सामान्य अंकले घटेको थियो भने बुधबार ५२ अंकले घटेर नेप्से सूच ३ हजार विन्दुभन्दा तल झरेको छ। बुधबार नेप्से सूचक ५२.३९ अंकले घटेर २ हजार ९६९.७२ विन्दुमा झरेको हो । सेन्सेटिभ सूचक पनि ८.५६ अंकले घटेको छ। यस दिन शेयरमूल्य उच्चदरले घट्ने कम्पनीमा पछिल्लो समय उच्चदरले बढ्दै आएका फाइनान्स, हाइड्रोपावर र विकास बैंक रहेका छन्।
आर्थिक प्रसंगमा एउटा कर सम्बन्धी समाचार, सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार ०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नु पर्नेछ । त्यस्तै ०७७ चैत र ०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनु पर्नेछ । ०७७ चैत र २०७८ वैशाखमा बुझाउनु पर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ । ०७७ चैत र ०७८ वैशाख महिनाको बुझाउनु पर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार ०७७ सम्म थप भएको विभागले जनाएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको प्लेअफ खेल्नु नपर्ने भएको छ। उत्तर कोरियाले नाम फिर्ता लिएपछि एएफसीले बुधबार छनोट प्रक्रिया परिमार्जन गर्दै सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीका अनुसार चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो।
विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो । परिमार्जन गरेको मापदण्ड अनुसार यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने प्राब्धान तोकिएको थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो ।
युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) राति तीन खेलहरु हुँदैछन् । युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ’बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ भने, अन्य खेलमा वेल्सले टर्कीको र इटालीले स्वीजरल्याण्डको समाना गर्नेछन्।































प्रतिक्रिया