हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्नुको कारण खुलाउँदै सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। महान्यायाधीवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पठाएका प्रधानमन्त्री ओलीले संसद विघटन सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप भएको छः उल्लेख गरेका छन्। यस्तै आजै राष्ट्रपति कार्यालयले पनि सर्वोच्चमा लिखित जवाफ पेस गरेका छ। कार्यालयले प्रधानमन्त्री पदमा दावी गरेका शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने नदेखिएको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ।
मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरोका अकल्पनीय घटनाले पिरोलेको छ। जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँग भारी वर्षापछि अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएपछि विभिन्न स्थानमा ठूलो क्षती पुर्याएको हो। योसँगै विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ भने, अन्य २५ जना हराइरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। यस्तै प्रधानमन्त्री ओलीले अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष तराई क्षेत्र डुबानमा नपर्ने पनि बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको पनि स्पष्ट पारेका छन्।
सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सिसीएमसी सम्बन्धी बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। अब, मन्त्रिपरिषद्ले यो निर्णयलाई मूतै रुप दिएसँगै कार्यान्वायन गरिने भएको छ। कोरोना संक्रमणको जोखिम कम गर्नका लागि गत वैशाख २० गतेबाट आन्तरिक तथा, २२ गतेबाट बाह्य उडान बन्द गरेको थियो।
१६ औं संस्करणको युरोकप फुटबलमा आज राति तीन खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘सी’ का दुई खेल र समूह ‘बी’ को एक खेल हुँदैछन्। जसमा, पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच पहिलो जितका लागि अहिले प्रतिस्पर्धा जारी छ भने, दोस्रो र तेस्रो खेलमा युरोकम २०२०मा दोस्रो जित निकाल्ने लक्षमा बेल्जियम र डेनमार्क तथा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ।































प्रतिक्रिया