राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन्।
बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन्। उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताए।
विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनु पर्ने आवश्यकता रहेको उनले औँल्याए।
अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए। पार्टी गतिहिन भएको भन्दै यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उनले उल्लेख गरे। उनले विगतका तितामिठा कुरा बिर्सेर एकताबद्ध हुन पनि आम पार्टी पंक्तिलाई आग्रह गरेका छन्।





























प्रतिक्रिया