मलाई प्रधानमन्त्रीको अफर आयो तर गठबन्धनलाई धोका दिन्नः माधव नेपाल (भिडियोसहित)

मलाई प्रधानमन्त्रीको अफर आयो तर गठबन्धनलाई धोका दिन्नः माधव नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाएका छन्। शनिबार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  प्रधानमन्त्री ओलीलाई प्रजातान्त्रिक छलफल पटक्कै मन नपराउने व्यक्ति भएको आरोप लगाए भने, एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसके पनि गठबन्धनलाई धोका नदिने बताए। 

गृहमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन्। अर्थमन्त्रीसहित रहेका पौडेलले अब निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन पनि आग्रह गरे। शनिबार बुटवलको एक कार्यक्रम उद्घाटन गर्न पुगेका मन्त्री पौडेलले अहिले केही दलहरु निर्वाचनसँग डराएका बताउँदै अब निर्वाचनको अर्को विकल्प नभएको बताएका हुन्। 

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धी हुने जनाएको छ। असार ९ गते राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल÷मट्टीतेलको साबिकको विक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरि नयाँ खुद्रा विक्री मूल्य कायम गरेको निगमले पुनः मूल्यवृद्धिको आवश्यकता औंल्याएको हो। कम्पनीको नोक्सानलाई भन्दा पनि अन्तर्राष्ट्रिय मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको निगमले बताएको छ।

कोरोना भाइरसको दोस्रो लहरसँगै वैशाखको तेस्रो साताबाट बन्द रहेका आन्तरिक हवाइ सेवा यही असार १७ गतेबाट सुरु हुँदैछन्। जसका लागि एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्न सक्ने जनाएका छन् । 

जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण आजबाट सुरु हुँदैछ। जसमा १६ वटा टिम रहेका छन्। शनिबार राति दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा वेल्स र डेनमार्क नेदरल्यान्ड्ससँग सामना गर्नेछ भने, दोस्रो खेलमा अष्ट्रियाले इटालीको सामना गर्नेछ। यी खेल नेपाली समयअनुसार क्रमश ९ः४५ बजे र राति १२ः४५ बजे सुरु हुनेछन्।

Logo