नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष नेताहरुको बैठक बोलाएका छन्। आज दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाइएको हो।
आज बस्ने बैठक महाधिवेशनमा केन्द्रित हुने र क्रियाशील सदस्यताको विवाद टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।
बैठकले क्रियाशील सदस्यका लागि सूचीकृत सदस्यकाविरुद्ध परेका उजुरी टुंग्याउन मापदण्ड बनाउने पनि स्रोतले जनाएको छ।
कांग्रेसका क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा अहिले पनि विवाद कायम छ।
यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनषा–१, काभ्रे–१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ (६ जिल्लाका) ९ निर्वाचन क्षेत्रको नयाँ र नवीकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको निर्णयअनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुयाई विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्यसम्पन्न गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी सार्वजनिक गरिएका उल्लेखित क्षेत्र र जिल्लाका नामावलीउपर, कुनै उजुरी, गुनासा वा सुझाव भए असार १७ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने पनि कांग्रेसले जनाएको छ।
यस समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना मार्फत सम्बन्धित पार्टी निकाय र व्यक्तिले उजुरी गर्न सकिने बताइएको छ। असार १७ गतेपछि प्राप्त भएका उजुरीउपर कुनै सुनुवाइ नहुने पनि कांग्रेस विज्ञप्तिमा जनाइएको छ।





























प्रतिक्रिया