संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उनले आफू मन्त्रालयमा रहुन्जेल पर्यटनक्षेत्र तथा पर्यटन व्यवसायको विकास र समृद्धिका लागि काम गर्ने बताएका हुन्। रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको उल्लेख गर्दे उनले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्ययोजना बनाई अघि बढ्नु पर्ने आवश्यकता औंल्याए।
सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेवारी कर्मचारीहरुको भएको भन्दै उनले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरि कार्ययोजना बनाउन माताहतका कर्मचारीलाई निर्देशन दिए।
मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताए।





























प्रतिक्रिया