कोभिड संक्रमणको महामारी रहँदा स्वास्थ्य संस्थाहरूमा देखिएको रगत अभावलाई पूर्ति गर्न अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार रक्तदान कार्यक्रम गरेको छ।
राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसमा एमाले पूर्वमहासचिव स्वर्गीय मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली, अनेरास्ववियू इञ्चार्ज खिमलाल भट्टराई, केन्द्रीय अध्यक्ष ऐन महरसहितले रक्तदान गरेका छन्।
स्वास्थ्य संस्थाहरूका अनुसार कोभिड महामारीका कारण रक्तदान नहुँदा पर्याप्त रगत छैन। रगत अभाव भएकोले कार्यक्रम आयोजना गर्नुपरेको अनेरास्ववियुकी स्थायी कमिटी सदस्य कल्पना वाईबाले बताइन्।
कोभिड महामारी नहुँदा विभिन्न सामाजिक संघसंस्थाहरूले कुनै अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएका थिए।
जसले गर्दा स्वास्थ्य संस्थाहरूमा रगत पर्याप्त हुन्थ्यो। तर, महामारीका कारण रक्तदाता संघसंस्थाहरूले रक्तदान गराउन पाएनन्। त्यसैले रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष ऐन महरले बताए ।
रक्तदानपछि स्वास्थ्य संस्थाहरूमा देखिएको रगत अभाव पूर्ती हुने अनुरास्ववियुले जनाएको छ।































प्रतिक्रिया