प्रचण्ड सिद्धान्तको राजनीतिभन्दा पनि अवसरवादी स्वार्थको राजनीतिमा लागेः प्रधानमन्त्री

प्रचण्ड सिद्धान्तको राजनीतिभन्दा पनि अवसरवादी स्वार्थको राजनीतिमा लागेः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन्। 

उनले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्याएका दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए। अध्यक्ष दाहालले छेपारोले जस्तो गरि स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिँडेको टिप्पणी प्रधानमन्त्री ओलीले गरे।

उनले भने, “प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार, मान्छेले छक्क माने। किन छक्क मान्ने छेपारोले रंग एक एकछिनमा फेर्छ त। खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ। अर्को हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ। अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो बनाउँछ। छेपारोले रंग फेर्छ त। कहिले कम्फर्टेबल सरकार बनाईदिन्छु भन्छ, कहिले–यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरु के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्दैनन् भन्छ। कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ। कहिले गणतन्त्रभन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ। कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ।”

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल “निलवर्ण संघार” कथाको पात्र जस्तो चरित्रको भएको दाबी गरे। प्रचण्डको काम नै देशलाई बर्बाद गर्ने भएको भन्दै उनले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिको मुलधारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरे। राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गरे। उनले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गरे। उनले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, बर्गिय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गरे।

प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गरे। बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उनले सुझाए।

विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच, विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गरे। जननेता भण्डारी शताब्दी नायक रहेको पनि उनले उल्लेख गरे। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा नेता भण्डारीले पारेको प्रभावको पनि प्रधानमन्त्री ओलीले चर्चा गरे। उनले मदन भण्डारीको स्कुलिङ अहिलेको जस्तो झुट र बेइमानीको नभई सत्य र निष्ठाको रहेको बताए। उनले राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनु पर्नेमा जोड दिए।

Logo