प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताएका छन्।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीविरुद्धको मोर्चामा सामेल हुनेहरु नेकपा एमालेका कार्यकर्ता नभएको बताएका हुन्। प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको नेतृत्वमा सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा हस्ताक्षर गरेका तथा सर्वोच्च अदालतको रिटमा हस्ताक्षर गरेका आफ्ना कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे। उनले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्नु पूर्व नै आफूहरुलाई सच्याउन पनि सचेत गराए।
आफ्नै पार्टीको नेतृत्वको सरकार विरोधमा सडकमा पुत्ला जलाउनेलाई दलको कार्यकर्ता मान्न नसकिने उल्लेख गरे। पार्टी एकताका लागि नेतृत्व लचिलो र फराकिलो मन लिएर अघि बढ्नु भनेको आफ्नैविरुद्धको आवाज नसुन्नु नभएको भन्दै उनले विपक्षी दलसँग साँठगाँठ गर्नेहरु एमालेका नेता कार्यकर्ता नहुने तर्क गरे।
प्रधानमन्त्री ओलीले विगतको प्रसंग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरु कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संग्लन हुनेहरु कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताए।
मान्छेबाट गल्ती हुन सक्ने र गल्तीलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समयसम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताए। उनले सच्चिएर आए पार्टीमा रहेर काम गर्न सकिने तर ओहोदाका बार्गेनिङ्ग गरे त्यसलाई स्वीकार गर्न नसकिने बताए।
कारवाही फुकुवा गरि जेठ २ मा फर्किनु नेता माधव नेपाल पक्षको माग भएको र त्यो माग पुरा गरेको भन्दै उनले अब कुनै पनि बहानामा पार्टीका क्रियाकलापहरु नरोकिने स्पष्ट पारे। उनले पार्टी गतिशील ढंगले अघि बढ्नु पर्ने र त्यही अनुसार नै बढ्ने स्पष्ट पारे।





























प्रतिक्रिया