संक्रामक रोगबाट प्रभावितहरुका लागि दिइने राहत तथा पुनर्स्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक रोग ऐन, २०२० उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्दै सांसदहरुले संक्रामक रोगपछि राहत तथा पुनर्स्थापना गर्ने निकायमा अस्पष्टता भएको र मनोमानी हुने गरेको भन्दै राहत तथा पुनर्स्थापनाको प्रावधान ऐनमा स्पष्टरुपमा उल्लेख गर्नुपर्ने बताएका हुन्।
बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले राहत र पुनर्स्थापनाको प्रावधान प्रष्टरुपमा आउनु पर्ने बताए। राहत दिने आधिकारिक र जिम्मेवार निकायको प्रष्टता हुनु पर्ने र पुनर्स्थापना र पुनर्उत्थान सम्बन्धी नीति पनि सरकारले बनाउनुपर्ने उनले बताए।
सांसद बेदुराम भुसालले संक्रामक रोगहरु प्राकृतिक विपत्तिसँग जोडिएर आउने भएकाले विपत व्यवस्थापनसँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्नुपर्ने व्यवस्था गर्नु पर्ने बताए। संक्रामक रोगको प्रकोप आउँदा अन्य रोगका विरामीले समेत पाउने उपचार सेवामा कठिनाई भएको भन्दै त्यस्तो स्थिति नहुनका लागि राज्यले प्रवन्ध मिलाउनुपर्ने उनले बताए।
त्यस्तै बैठकमा बोल्दै सांसद ठगेन्द्रप्रकाश पुरीले विद्यमान ऐनमा संक्रामक रोगको बारेमा स्पष्ट परिभाषा नगरिएको बताए। उनले यस ऐनको संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे। सांसद भगवती न्यौपानेले राहत वितरणलाई राज्यको निकायबाट एकद्वार प्रणाली अनुरुप गरिने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
सांसद भैरव सुन्दर श्रेष्ठले संक्रामक रोगको बेलामा निजी अस्पतालहरुले मनोमानीरुपमा शुल्क लिने गरेको भन्दै अस्पतालहरुले शुल्क लिने मापदण्ड पनि निश्चित गरिनु पर्ने धारणा राख्नुपर्ने बताए।
विपत्तिपछि वितरण गरिने राहतमा राज्यलाई पछि पारेको देखाउन व्यक्तिहरु हावी भएको भन्दै सांसद श्रेष्ठले व्यक्तिवादलाई नियन्त्रण गर्न ऐनमा व्यवस्था गरिनु पर्ने पनि बताए।





























प्रतिक्रिया