केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले नयाँ चरणको आन्दोलन गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले नयाँ चरणको आन्दोलन गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा पुनः नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले तीन दिनका लागि छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय गरेको हो ।

मंगलबार पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टुको सफल आरोहण गरि कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको भन्दै प्रधानमन्त्री केपी शर्माओलीले आरोहिहरूलाई भेटेरै खुसी व्यक्त गरेका छन् । उनले अब, सरकारका तर्फबाट हिमालआरोहीहरूका लागि अवार्ड प्रदान गरिने उद्घोष पनि गरेका छन् ।

नेपालमा ९ वर्षको लामो प्रयासपछि मंंगलबारबाट भन्सारमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा भइरहेको भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । यता निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ । यता, भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन व्यवसायीहरूले माग गरेका छन् ।

निर्वाचन आयोगले नेकपाको ओली र प्रचण्ड–माधव दुवै पक्षलाई आइतवारको बैठकको निर्णय छुट्टाछुट्टै रूपमा पठाएको छ । आयोगले पठाएको पत्र अनुसार पी ओली र प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव रहेको पार्टी ‘नेकपा’ नै कायम रहेको औपचारिक जानकारी दिएको छ । पत्रमार्फत विद्यमान ऐन र नेकपाको विधान अनुसार दुवै पक्षका अलग अलग निर्णयहरू पनि अवैधानिक रहको आयोगले जनाएको छ ।

राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ । मंगलबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । यस्तै आजै भएको खेलमा उपाधि दाबेदार नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

Logo