हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा नियुक्त भएका छन्। सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार मंगलबार राष्ट्रपतिको कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो। देउवाले आज प्रधानमन्त्रीमा सपथ लिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आदेश आफ्नो पक्षमा रहँदा रहँदै पनि सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भएकाले सर्वोच्चको परमादेशका कारण प्रधानमन्त्रीको जिम्मेवारीबाट बिदा लिनुपरेको बताएका छन्। ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लोकतन्त्रमाथि विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको र राज्यका अङ्गहरूले नियन्त्रण र सन्तुलन गुमाउँदा समस्या हुने आशंका पनि व्यक्त गरेका छन्। यद्यपि ओलीले अबको बाँकी अवधि संसद् चलोस् भन्ने शुभकामना पनि दिएका छन्।
सोमबार ४६.०६ प्रतिशत घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८ साय ७१.०४ विन्दुमा पुगेको हो। आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँमा कारोबार भएको छ। जसमा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ।
दक्षिण कोरिया सरकारले आफ्ना सबै श्रमिकको न्यूतम ज्यालामा पाँच प्रतिशत बढाएको छ। योसँगै अब मजदुरहरूको न्यूनतम ज्याला प्रतिघण्टा नौ हजार १६० वन अर्थात् झण्डै मासिक नेपाली दुई लाख रुपैयाँ कायम गरिएको छ। यद्यपि यो ज्यालादर सन् २०२२ देखि लागू हुने जनाइएको छ।
‘टोकियो ओलम्पिक’मा नेपालबाट २३ सदस्यीय टिमले सहभागिता जनाउने भएका छन्। उक्त टिममा पाँच खेलाडी, चार प्रशिक्षकसहित अन्य पदाधिकारी रहने नेपाल ओलम्पिक कमिटिले जनाएको हो। जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुँदैछन्।





























प्रतिक्रिया