नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, खोप खरिदका लागि ५ अर्ब निकासा (भिडियोसहित)

नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, खोप खरिदका लागि ५ अर्ब निकासा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

बुधबार नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनीहरूले अब परिणाममुखी र जनतामुखी काम गर्ने बताएका छन्। यसैबीच पदभार ग्रहण गर्दै अर्थमन्त्री  शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेका छन् भने, गृहमन्त्री खाँणले अग्रपंक्तीमा रहेर काम गर्नेहरूका लागि जोखिम भत्ता लगायतमा विशेष प्राथमिकता दिने बताएका छन्। 

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको हो। पटक–पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। तर, आज बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए।

गण्डकी प्रदेश सभामा विपक्षी दल एमाले सांसदमा टेबुल फ्यालेरै विरोध जनाएको छ। यद्यपि विरोधकाबीच बजेट भने पारित गरिएको छ। एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बजेट पारितको अन्तिम समयमा बैठक सुचारुका लागि सहयोग गर्न भनेपनि एमालेले अवरोध जनाएको थियो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमालेले विरोध जनाएको थियो। 

हालैमात्र नेपाल आइपुगेको सिनोफार्म कम्पनीको ८ लाख बढी खोप र अमेरिकी सहयोगमा प्राप्त जे एण्ड जे खोप क–कसलाई लगाउने भन्ने बारे सरकारले प्राथमिकताको क्षेत्र छुट्ट्याएको छ। जसमा विद्यालयका शिक्षकदेखि यातायात मजदुर तथा शरणार्थी लगायतको वर्गलाई दिइने बताइएको छ। चीनबाट थप खोप खरीद  र अमेरिकाबाट प्राप्त सहयोगबाट नेपालीहरूमा महामारीबाट छुट्कारा पाइन्छ कि भन्ने आशा पलाएको छ। यद्यपि खोप लगाउनेहरूको प्राथमिकता र यसको व्यवस्थापनमा भने अझै पनि नागरिक विश्वस्त हुन सकेका छैनन्। 

पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट हुँदा चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु भएको छ। । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ । विदेशकै प्रसंगमा चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको छ। 

Logo