प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन्।
प्रतिनिधिसभाको बैठक आइतबार (आज) दिउँसो ४ बजे बस्दैछ । आइतबारै बसेको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको बैठकका लागि कार्यसूची तय गरिसकेको सभामुख अग्निप्रसाद सापकोटाले बताए।
आइतबार प्रतिनिधिसभाको दुईवटा बैठक बस्ने र पहिलो बैठकले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गरिने तथा शोकप्रस्तावहरु पारित गरिने सभामुख सापकोटाले जानकारी दिए। उनले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय गरिएको बताए।
उनले भने–‘दोस्रो बैठकमा प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन्छु भनेर पत्र पठाउनु भएको छ । यो पत्र अनुसार विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नका लागि सचिवालयले तयारी गरिरहेको छ । त्यही अनुसार तयारी गर्न मैले सचिवालयलाई निर्देशित पनि गरेको छु । आज यिनै कार्यसूचीहरु छन् । विश्वासको मतको लागि प्रस्ताव दर्ता भइसकेको छ ।’
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधिसभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।





























प्रतिक्रिया