देउवाको पक्षमा १३१ सांसद निश्चित, माधव पक्षका अझै पाँच सांसद चाहिने

देउवाको पक्षमा १३१ सांसद निश्चित, माधव पक्षका अझै पाँच सांसद चाहिने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त गर्न आज प्रतिनिधिसभामा बहुमतका लागि उनले कम्तीमा १३६ सांसदको मत पाउनु पर्नेछ।

प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेसका अहिले ६३ सांसद छन्। जसमध्ये ६१ जनाले मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउँछन्। किनकी दुई जना (विजयकुमार गच्छदार र अफताव आलम) निलम्बनमा छन्। 

यस्तै सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका ५३ जनामध्ये ४८ सांसदले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिनेछन्। माओवादीका ४ सांसद निलम्बनमा छन् भने सांसद अग्निप्रसाद सापकोटा सभामुख रहेकाले उनी मतदानमा सहभागी हुन पाउँदैनन्।  

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्दा जसपा यादव पक्षका १२ सांसदले हस्ताक्षर गरेका थिए। तर शनिबार ठाकुर पक्षका सांसद पनि यादव समूहमा थपिएका छन्। हाल यस समूहमा २० जना सांसद रहेको यादव पक्षका सांसद मोहम्मत इस्तियाक राईले बताए ।

राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। जनमोर्चाका एक जना प्रतिनिधिसभा सदस्य छन्। यी सबै जोड्दा देउवासँग १ सय ३१ संसद् पुग्छन्।  

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त गर्न ५ सांसद आवश्यक छ। देउवाले बहुमत पाउन नेकपा एमालेको माधवकुमार नेपाल समूह निर्णायक देखिएको छ। 

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले मत नदिए देउवाको पूर्ण अवधि प्रधानमन्त्री बन्ने सपना तुहिन सक्छ।

तर, अहिलेसम्म नेपाल पक्षका अधिकाँशले मत दिन सक्ने सम्भावना देखिएको हँुदा देउवा पूर्णअवधि प्रधानमन्त्री बन्ने देखिएको छ। संसद् पूर्ण कार्यकाल चल्न यो संख्या पर्याप्त छ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। 

सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।

७६ को उपधारा ५ बाट प्रधानमन्त्री बनेकाले देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरे उनले नै प्रतिनिधिसभा विघटन गरि चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।  

Logo