प्रतिनिधिसभाको आठौँ अधिवेशन आइतबारदेखि सुरु (भिडियोसहित)

प्रतिनिधिसभाको आठौँ अधिवेशन आइतबारदेखि सुरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सर्वाेच्च अदालतको आदेश अनुसार पुनःस्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आइतबारदेखि शुरु भएको छ । आइतबारको बैठकमा सरकारको तर्फबाट विभिन्न अध्यादेशहरु पेश भएका छन् भने, आजको बैठकमा संविधान सभा तथा प्रतिनिधि सभाका पूर्व सदस्यहरुको निधनप्रति शोक प्रस्ताव पनि पारित गरिएको छ । यस्तै संघीय संसद अन्तरगतको राष्ट्रिय सभाको नवौं अधिवेशन पनि आईतबारबाट सुरु भएको छ । 

एमाले नेता भीम रावालद्वारा संसदबाट राजीनामा दिएका छन्। उनले जनविरोधी गतिविधिको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर रहेको बताउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन्। यस्तै नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसदमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् भने, कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रवक्ता  ज्ञवालीको तर्कको खण्डन गर्दै सर्वोच्चको बचाउ गरेका छन्। 

जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आज भएको बहसमा निर्वाचन आयोगले दुवै पक्षलाई आ–आफ्नो प्रमाण पेस गर्न आदेश दिएको छ । आधिकारिकतासम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले इजलास गठन गरी आजदेखि बहस सुरु गरेको छ । आज दुवै पक्षको बहस सकिएको छ । दुवै पक्षका अधिवक्ताले बहस गरेपछि निर्वाचन आयोगले आआफ्नो प्रमाण पेस गर्न आदेश दिएपछि विवादबारे सुनुवाई हेर्दाहेर्दैमा सकिएको हो।

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १०० अंक बढेको छ भने कारोबार रकम पनि साढे ११ अर्ब नाघेको छ। नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बरबारको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेका कारण लगानीकर्ताहरु उत्साहित भएका छन्। 

बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । आइतबार भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा भारतीय रेल सञ्चालन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । यद्यपि रेलमा ११० प्रति घन्टा स्पिड लेखिएको र रेलको गति पनि १२० भन्दा कमनै रहेको प्रत्यक्षदर्शीहरूको प्रतिक्रिया रहेको छ। रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गरिएको र महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको हो।

Logo