सर्वोच्चको फैसलाले देशमा प्रतिक्रान्ति भएको छः नेता रायमाझी

सर्वोच्चको फैसलाले देशमा प्रतिक्रान्ति भएको छः नेता रायमाझी

केन्द्रबिन्दु
0
Shares

नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताएका छन्।

मंगलबार आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उनले बताए । उनले संसदको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न आईटी आर्मिले भुमिका खेल्नुपर्ने बताए। 

नेकपा(एमाले)का नेता प्रभु साहले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताए। सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई पनि उल्ट्याउने स्थिति बनेको भन्दै उनले न्यायाधिशहरुको भूमिका न्याय दिने नदेखिएको बताए। आईटी आर्मिले राज्यका निकायमा भएका कमी कमजोरीहरुलाई औँल्याउँदै जनतालाई सुसुचित गराउनु जरुरी रहेको उनको भनाइ थियो । 

नेकपा(एमाले)मा गएका पूर्वमाओवादी नेताहरुले श्रमजीवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकाससहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आइटी आर्मि गठन गरेका छन् । चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेगरी तिनै तहमा संगठन निर्माण गर्नेगरी आईटी आर्मी घोषणा गरिएको हो। 

आईटी आर्मीले समाजको विकृति, विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहिनता एवं अस्थिरताविरुद्ध संघर्ष गर्ने, समाजमा विद्यमान विभेद, शोषण, दमन तथा उत्पीडन रोक्न सक्रिय रहने, देश–दुनियाँमा भइरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, खचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरुमा सहभागी भई सहयोग गर्ने लगायतको काम गर्ने जनाइएको छ।

Logo