सबै नेपालीलाई कोरोनाविरुद्ध खोपको व्यवस्था हुन्छः प्रधानमन्त्री देउवा (भिडियोसहित)

सबै नेपालीलाई कोरोनाविरुद्ध खोपको व्यवस्था हुन्छः प्रधानमन्त्री देउवा (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गरेका छन्। यस्तै उनले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने पनि बताएका छन्। यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानको गलत ब्याख्या गरेको आरोपसमेत लगाएका छन्। 

निर्वाचन आयोगले बिहीबार गरेको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका एक अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन्। आयोगको निर्णय बदर गर्न ठाकुरको माग छ। साउन ११ गते बिहान ११ बजे आफ्नो परिचय खुल्ने नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रको सक्कल प्रति लिएर स्वयम् आयोगमा उपस्थित हुन आयोगले ठाकुरसँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी दिएको थियो।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण अर्थतन्त्रले गति लिन नसकेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले कोरोना महामारीका कारणले अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो चुनौती रहेको बताएका हुन्। शर्माले आफू आर्थिक क्षेत्रको विद्यार्थी नभएको तर अर्थतन्त्रका विज्ञ,आर्थिक पत्रकार, अर्थसचिव लगायत सबै आर्थिक विज्ञहरुसँगको सहयोयमा अर्थ मन्त्रालयलाई गतिशील बनाउने बताए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ महाराजधिराजको संज्ञा दिएका छन्। अध्यक्ष ओलीले च्यासलस्थित पुष्पलाल प्रतिष्ठानबाट बिहीबार गरेको सम्वोधनलाई आधार मान्दै नेता नेपालले उनलाई महामहिम श्री ५ महाराजधिराजको संज्ञा दिएका हुन्।

नेपालमा सरकारी संयन्त्रमार्फत कुनै काम गर्दा निकै झन्झटिलो हुने गर्छ। प्रक्रियागत जटिलता नेपाली प्रशासनको चिनारी नै हो भने हुन्छ। एक ठाउँबाट अर्को ठाउँ हुँदै, लाइनमा बस्दै अन्तमा काम पूरा हुने गर्छ। तर, बिस्तारै भए पनि त्यो परिपाटीमा परिवर्तन आउने संकेत देखिएको छ। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका यातायात व्यवस्था तथा अन्य कार्यालयबाट दिइने सेवा अब अनलाइनबाट उपलब्ध हुने भएको छ।

Logo