सांसद ढेंगामगर ‘अपहरण’: अंकगणितको राजनीतिक खेलमा मुख्यमन्त्री पोखरेल

सांसद ढेंगामगर ‘अपहरण’: अंकगणितको राजनीतिक खेलमा मुख्यमन्त्री पोखरेल


जनता समाजवादी पार्टी (जसपा)की सांसद पुर्मती ढेंगामगर ‘बेपत्ता’ भएपछि लुम्बिनी प्रदेशको राजनीति फेरि चर्चा आएको छ।

हालका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन्, उनीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन। तर, अल्पमतको सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम भने पारित हुँदैन। नीति तथा कार्यक्रम र बजेट पास गर्न सरकारले बहुमत सिद्ध गर्नुपर्छ। नत्रभने नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।

मुख्यमन्त्री पोखरेल भने मार्गप्रशस्त गर्नुभन्दा पनि जसरी भए पनि बहुमतसिद्ध गर्ने होडमा देखिएका छन्।

समानुपातिक सांसद ढेंगामगरले जसपा प्रदेश अध्यक्षलाई फोनमा दिएको जानकारी अनुसार उनलाई बेपत्ता पारिएको छ। मुख्यमन्त्री पोखरेलको दबाबमा  श्रीमानले आफूलाई बेपत्ता पारेको उनले जानकारी दिएकी छन्। 

उनको यो अभिव्यक्तिले संसदीय अंकगणितको फोहोरी राजनीतिक खेलमा आफूलाई टिकाउन मुख्यमन्त्री शंकर पोखरेल फेरि एकपटक मुछिएका छन्। यद्यपि, मुख्यमन्त्री पोखरेलले भने यस आरोपलाई अस्वीकार गर्दै आएका छन्।

किन पारियो पुर्मतीलाई बेपत्ता?

प्रदेशसभामा जनता समाजवादी पार्टीबाट ६ सांसद रहेकामा अहिले ३ जना सरकारमा सहभागी छन् भने ३ जना विपक्षीको गठबन्धनमा। 

दुई साताअघि जसपाबाट सरकारमा सहभागी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएकी थिइन्। त्यसभन्दाअघि मुख्यमन्त्री पोखरेल बहुमतमा थिए। 

तर, शर्माको राजीनामापछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेपछि उनले ल्याएको नीति तथा कार्यक्रम पारित भएन, बजेट पनि पारित भएन। नीति तथा कार्यक्रम र बजेट पारित नभएपछि सरकार पक्षले नै संसद बहिष्कार गर्याे र, अधिवेशन अन्त्य गरियो।

मुख्यमन्त्रीले अधिवेशन अन्त्य गरेर पुनः अध्यादेशबाट बजेट ल्याएपछि उनी विवादित बने। संसद् जीवित हुँदा–हुँदै अध्यादेशबाट बजेट ल्याएर पोखरेल ओलीको बाटोमा हिँडेको आरोपसमेत लाग्यो।

८३ सदस्यीय लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ। 

विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन्। पुर्मतीले मुख्यमन्त्रीलाई साथ दिएमा उनले बहुमतसिद्ध गर्न सक्छन्। नभए मुख्यमन्त्री पोखरेलको पद धरापमा पर्छ।

के भन्छन्–जसपा यादव पक्षका सांसद?

प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले पुर्मतीलाई मन्त्रीको प्रलोभन दिन अपहरण गरेको जसपाले आरोप लगाएको छ। मुख्यमन्त्री पोखरेलले मन्त्री बनाइदिनेलगायत विभिन्न आर्थिक प्रलोभन देखाएर सांसद ढेंगामगरलाई बेपत्ता पारिएको जसपाकी सांसद सुमन शर्मा रायमाझीले जानकारी दिइन्।

शर्माले पुर्मतीलाई अपहरण र बेपत्ता पारिए पनि बहुमत भने विपक्षी मोर्चाकै पुग्ने जनाइन्।

‘उहाँ समानुपातिक सांसद हुनुहुन्छ, आर्थिक प्रलोभनमा पर्नुभयो भने पनि उहाँलाई कारबाही गरेर अरुलाई सांसद बनाउँछौं। फेरि ४१–४१ भए सभामुखको मत दिने अधिकार हुन्छ। त्यस अवस्थामा पनि हामी बहुमतमै हुन्छौं,’ शर्माले थपिन्।

यता, सांसद बेपत्ता विषयमा कुनै जानकारी नआएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले केन्द्रबिन्दुलाई जानकारी दिए।

‘हामीलाई किन त्यस्तो गर्नुपर्यो, बहुमत नभएपछि हामी सरकारको नेतृत्व गर्दैनौं भनेकै छौं,’ उनले भने।

Logo