किन जान्छन् ओली पक्षका नेता बारम्बार माधव नेपाललाई भेट्न कोटेश्वर?

किन जान्छन् ओली पक्षका नेता बारम्बार माधव नेपाललाई भेट्न कोटेश्वर?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल शुक्रबार कोटेश्वर पुगेका छन्। एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका हुन्। स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच ‘वान टु वान’ भेट गराउनेबारे छलफल गर्न उनी त्यहाँ पुगेका हुन्।

त्यस्तै, माधव पक्षले इन्कार गर्दै आएको १० बुँदे कार्यदलको पार्टी एकता प्रस्ताव कार्यान्वयन गराउनका लागि नेपाललाई मनाउन उनी कोटेश्वर पुगेको जनाइएको छ। 

पौडेल र नेपालबीच केही बेरदेखि भेटवार्ता जारी छ। भेट निष्कर्षमा पुग्ने/नपुग्ने यकिन नभए पनि पछिल्लो समय ओली पक्षका नेता नेपाललाई फकाउन प्रयत्नशील देखिएका छन्।

कहिले दोस्रो अध्यक्षको प्रस्ताव लिएर त कहिले आममाफीको निर्णय लिएर ओली पक्षका नेताहरु माधव नेपाल निवास पुग्दै आएका छन्। तर, माधव नेपाल पक्षले भने ओलीले षड्यन्त्र गरेको भन्दै उनको प्रस्ताव ठाडै अस्वीकार गर्दै आएको छ।

उपमहासचिव पौडेल मात्र होइन् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि केही समयअघि माधव नेपाल भेट्न कोटेश्वर पुगेका थिए। त्यस बेला पनि १० बुँदे एकता प्रस्ताव कार्यान्वयनकै विषय थियो। तर, नेपाल पक्षले उक्त प्रस्ताव अस्वीकार गर्दै देउवालाई विश्वासको मत दिएको थियो। शंकर पोखरेलले पनि नेपाललाई पटकपटक भेटिसकेका छन्।

पछिल्लो समय पुनः भेट बाक्लो हुनुले पार्टीमा एकता कायम होला कि भन्ने सम्भावना देखिएको छ।

Skip This
Skip This
Logo