यस्ता छन् माओवादी स्थायी कमिटी बैठकका पाँच निर्णय

यस्ता छन् माओवादी स्थायी कमिटी बैठकका पाँच निर्णय

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले पाँचवटा निर्णय गरेकाे छ।

गठबन्धनलाई मजबुत बनाउनेदेखि भारतीय एसएसबीले तुइन काटिँदा महाकाली नदीमा खसेर बेपत्ता भएकाे भनिएका जयसिंह धामीलगायत सम्बन्धि पाँचवटा निर्णय गरेकाे हाे।

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले पाँचवटा निर्णय गरेकाे छ। नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ। 

पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उनको भनाइ छ।

गठबन्धन प्रभावकारी, सरकार जनपक्षीय

माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, गठबन्धनको घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफ्नो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, गठबन्धनमा आवद्ध दलसँग भएको छलफल तथा सरकार विस्तारलगायतका विषयमा जानकारी गराएका थिए।

माओवादी स्थायी कमिटी बैटकका पाँच निर्णय

• गठबन्धनलाई सुदृढ बनाउने र पूरा कार्यकाल सरकार चलाउने।
• सरकारकाे कामलाई जनमुखी बनाउने।
• २० साउनमा बाेलाएकाे पार्टीको केन्द्रीय कमिटी बैठक ३० साउनमा बाेलाउने।
• अध्यक्ष प्रचण्डले गठबन्धनका घटकहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गर्ने।
• नेपाली नागरिक जयसिं धामी भारतीय एसएसबीका जवानले तुइन खुस्काउँदा महाकाली नदीमा खसेर बेपत्ता भएकाे भनिएकाे घटनाबारे सरकारले तत्काल छानबिन गरी सम्बन्धित व्यक्तिलाई कारबाही गर्न र भारत सरकारकाे जवाफ माग गराउने।

दार्चुला घटनाको छानबिन गर्न माग

माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबिन गर्न सरकारसँग माग गरेको छ। यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता श्रेष्ठले सो घटनाको सत्यतथ्य छानबिन गरी भारतीय पक्षसँग गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारवाही गर्न सरकारको ध्यानकर्षण गराइएको बताए।

महकाली नदीमा तुइन तर्ने क्रममा नेपाली नागरिक बेपत्ता हुनु दुःखद रहेको भन्दै माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ।

केही दिनभित्रै सरकार विस्तार हुने
माओवादी केन्द्रले केही दिनभित्रै सरकार विस्तार हुने विश्वास व्यक्त गरेको छ। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ। आजै सरकार विस्तारका बारेमा अध्यक्ष दाहालले गठबन्धनका सबै दलसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमार्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ। यस्तै, नेकपा(एमाले)को माधवकुमार नेपाल समूहले पनि छिट्टै आफनो निर्णय दिने तयारी गरेको छ। “अब धेरै समय लिनुहुँदैन भन्नेमा हामी स्पष्ट छाैं। केही दिनभित्रै स्पष्ट निर्णय आउला र आउनुपर्छ ” उनले भने।

मन्त्रिपरिषदमा पार्टीको तर्फबाट पठाउने नेताहरुको बारेमा निर्णय गर्न सोमबार ३ बजे पुनःस्थायी समितिको बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ। फरक एक प्रशङ्गमा प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेशमा संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने बताए। प्रदेश सरकार असंवैधानिक तरिकाले चलिरहेकाले त्यसलाई सच्याएर वैधानिकरुपमा सरकार गठनका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ। 

Skip This
Skip This
Logo