नेकपा एमाले फुट र जुटको संघारमा छ। दुवै पक्षका दोस्रो तहका नेताहरू पार्टीमा एकता कायम गर्न लागिरहेका भए पनि मिलनबिन्दु असम्भवजस्तै देखिएको छ।
एमालेमा एकता कायम नहुनुमा कतिपय पार्टीभित्रकै आन्तरिक त केही बाह्य कारण पनि छन्। एमाले फुटाएर माधव नेपाललाई अलग्याउन अन्य पार्टीले पनि भूमिका निर्वाह गरिरहेको एमाले स्रोतले जनाएको छ।
स्रोतका अनुसार, यसरी एमालेमा एकता हुने नदिन देखिने गरी र नदेखिने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालका लागि आकर्षक प्रस्ताव अगाडि सारेका छन्।
देउवाले एमालेमा एकता नहोस् भन्नुका कारण यस प्रकार रहेका छन्ः पहिलो, यदि एमालेमा कायम भए सत्ता गठबन्धन कमजोर बन्छ। दोस्रो, एमाले विभाजित भएमा आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउन सक्छ।
अर्कोतिर, प्रचण्डले माधव नेपाललाई आफ्नो साथमै राखे भने गठबन्धन सरकारमै उनको दर्बिलो स्थान रहिरहन्छ। प्रचण्ड गठबन्धन सरकारको ‘कि पर्सन’ मा आफू रहन सक्छन्। माधवसहित चुनावमै जाँदा पनि पार्टी केही माथि उस्किने र ओलीको घमण्ड, दम्भ र अहंकारलाई चिर्न नेपाल साथ लिनु नै विकल्प रहेको हुँदा प्रचण्डले माधव गुमाउन नचाहेको स्रोतले केन्द्रबिन्दुलाई जानकारी दिएको छ।
एमालेभित्रको विवाद समाधानतिर उन्मुख बन्दै जाँदा पटक–पटक प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर जाने गरेका छन्। ‘हामी एकताको पक्षमा छौं, तपाई नआउनुहोस् भनेर माधव नेपालले प्रचण्डलाई भन्न नसक्नु, पार्टीको बैठकमा नभएर विपक्षी गठबन्धनको बैठकमा जान माधव नेपाल इच्छुक हुनु, फ्लोर क्रस गर्ने २२ सांसदमध्ये कोही पनि पार्टी एकताको पक्षमा नरहनु, पार्टीमा एकता कायम गर्ने कुरा गर्दा पनि सम्भव नहुने प्रस्तावलाई जोड दिनुले प्रचण्ड–देउवा मात्र होइन, माधव स्वयं पनि पार्टी एकताको पक्षमा छैनन्’ ओलीनिकट स्रोतले केन्द्रबिन्दुलाई बतायो।
तथापि, पार्टी मिलाउन दुवै पक्षका दोस्रो तहका नेता लागिरहेका छन्। यसैबीच, माधव नेपाललाई ओलीसँग मिल्नबाट रोक्न गठबन्धनले ६ प्रस्ताव पठाएको छ।
माधव नेपाल चुनावपछि बन्ने सरकारमा प्रधानमन्त्री, गठबन्धनमा समान हैसियतको अध्यक्षसहित ६ प्रस्ताव सुझाएको राजनीतिक उच्च स्रोतले जनाएको छ। त्यस्तै, उनलाई गठबन्धन सरकारले बनाउने उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउने प्रस्तावसमेत अघि सारिएको बुझिएको छ।
त्यस्तै, ओलीलाई छाडेर आएमा नेपाललाई गठबन्धनको कम्युनिस्ट घटकहरू मिलेर बन्ने पार्टीमा अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डले अघि सारेका छन्।
स्रोतले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्यो, ’माधवजी, हामीसँगै रहनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ, अहिलेको राजनीतिक अवस्थामा उहाँ हामीसँगै रहनुभयो भने आगामी निर्वाचनपछि माधवजीलाई प्रधानमन्त्री बनाउनुपर्छ।’
अर्को प्रस्तावका रूपमा ओलीको सरकार रहँदा सरकारमा नअटाएका एमाले नेताहरूलाई मन्त्री बनाउने गरी गठबन्धन अघि बढ्को छ। ६ वटा महत्वपूर्ण मन्त्रालय भागमा परेको माधव पक्ष दलसम्बन्धीे ऐन बाधक बनेको हुँदा सरकारमा सहभागी भएको छैन। त्यही कारण शुक्रबारसम्म पनि मन्त्रिमण्डलले पूर्णता पाएको छैन्। तर, माधव पक्षका २२ जना सांसद भने मन्त्री बन्न लालायित छन्, केहीले फलानो मन्त्रालय म पाउँछु भन्दै हिँड्ने गरेका छन्।
स्रोतका अनुसार माधव पक्ष सरकारमा सहभागी भए–नभएपनि सरकारले गर्ने राजनीतिक नियुक्तिमा नेपाल पक्षबाट मात्रै ५० प्रतिशतले स्थान पाउने गरी आन्तरिक सहमति भएको दाबी गरे। माधव नेपालले गठबन्धनको साथ नछाड्ने, सरकार पूर्ण कार्यकाल चल्ने र संसद् पनि बच्ने हुँदा यो प्रस्ताव ल्याइएको हो
अर्को चाहिँ ओलीलाई ठेगान लगाउन बृहत् कम्युनिस्ट पार्टी गठन गरी सबैलाई समेट्ने प्रचण्डको योजना छ। त्यसको नेतृत्व माधव नेपालले गर्ने गरी अघि बढिसकेको एमाले नेपाल स्रोतले जनाएको छ। यसरी बनेको पार्टीमा केपी ओली नरहने बरु उनीनिकट नेताहरू गल्ती कमजोरी सच्याएर आए पार्टीमा स्थान दिने गरी अघि बढेको स्रोतको दाबी छ।
यता माधव नेपालले साइलेन्ट तर, निक्कै आक्रामक ढंगले खेल खेलिरहेका छन्। वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्–‘माधव नेपाललाई पार्टीमा फर्किने चाहना छैन्, सकभर उनी नयाँ पार्टी बनाएर बस्न चाहन्छन्।’
तर, नेपालले शुक्रबारै उनीनिकट केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै भने आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए। ओलीले गर्ने भनेको १० औं राष्ट्रिय महाअधिवेशन प्रक्रिया र सदस्यता नवीकरण रोक्न माग गरेको नेपालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।































प्रतिक्रिया