शुक्रवारको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले कोरियाली कामदारको व्यवस्थापनदेखि पब्जी बन्दसम्मको विषयमा आवाज उठाएका छन् ।
राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । वैदेशिक रोजगारीमा जान लागेकाहरु क्युआर कोडको लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बस्ने अवस्था हटाउनुपर्ने बेलबासेको भनाइ थियो ।
उता अर्का सदस्य परशुराम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानविनका लागि संसदीय समिति बनाउनुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय स्तरमा बेरुजु रकम खरबौँ पुग्न लागेको जनाउँदै बेरुजु व्यवस्थापन गर्ने कानूनी प्रवन्धको पनि अभाव भएको जिकिर गरे ।
सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरिन् । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको उनको थप टिप्पणी थियो ।
सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाउनुपर्नेमा जोड दिइन् । सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरुको प्रयोग गर्नुपर्ने उनको आग्रह थियो । बालकालिकाले इन्टरनेटको अधिकतम प्रयोग गर्दा उनीहरुलाई मनोवैज्ञानिक असर परेको भन्दै उनले पब्जी, फ्रिफायर लगायतका एप्लिकेशन बन्द गर्न पनि सरकारसंग अनुरोध गरिन्।
सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरिन् । उनले बृहत शान्ति सम्झौतापछि द्वन्द्वरत पक्ष नै पटक पटक सरकार सञ्चालनमा पुगेको भएपनि यस विषयलाई टुंगोमा पुर्याउन नसकेको संस्मरण गराइन्।





























प्रतिक्रिया