राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिकरुपमा अध्यादेशमार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ती नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका हुन्। उनले भने,–‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतीद्वारा ती नियुक्तीहरु बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरी कार्य गर्नुभनी निर्देशन पनि दिन सकौं।’
उनले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गरे। उनले भने,–‘संवैधानिक आयोग अपांग भयो। अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो। मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो। संसदको गरिमा पनि घट्यो। अदालतको आलोचना हुन थाल्यो।प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो। संवैधानिक अंगहरु निष्प्रभावि भए। संविधान विरोधीहरु खुशी भए। नेपाल विरोधीहरु नाच्न थाले। यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले।’
उनले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गरे । वर्तमान सरकार मुलुकमारा र गरिबमारा हुन नहुने उनले बताए।





























प्रतिक्रिया