युवा संगठन नेपालले ‘महिनामा २ दिन, २ घण्टा, मेरो राष्ट्रका लागि’ भन्ने अभियान सुरु गर्ने भएको छ ।
बिहीवार बसेको संगठनको केन्द्रीय पदाधिकारी बैठकले अभियान हरेक महिनाको दुई शनिवार २ घण्टा देशैभर सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानको पहिलो श्रृंखलाअन्तर्गत २३ साउनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज तथा साउनको अन्तिम शनिवार त्रिवि कीर्तिपुरमा हुनेछ ।
संघका महासचिव दीपक जीएमका अनुसार युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्यबोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान थालिएको हो। संघका अध्यक्ष नरेश कुमार शाहीले नेपाली समाजमा राजनीति प्रतिको सकारात्मक धारण विकास गर्ने र नेपालको समाज विकासका लागि युवाहरुको दायित्व र कर्तव्यबोध गराउनका लागि स्वयंसेवकको अभियान थालेको जनाए ।
बैठकले २०७८ साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० भित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहसम्म पुगेर पिपुल्स भोलेन्टियर गठन गर्ने निर्णय गरेको छ । युवा संगठन नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर हो ।





























प्रतिक्रिया