वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट समर्थक रहेको प्रस्तावमा कोभिड–१९ बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाएका, रोजगारी गुमाएका र स्वदेश फर्किएकाका बारेको विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिएको छ।

कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारको तर्फबाट भएको सहयोगको माग गर्न, वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिलाई सरकारले के कस्तो राहत र रोजगारीको व्यवस्था गरेको सो बारे पनि छलफल गर्न माग गरिएको छ। 

त्यस्तै रोजगारीका लागि सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन किन नभएको, अब कुनकुन देशसँग अनुगमन र श्रम सम्झौता हुँदैछ, त्यस बारे पनि सरकारसँग आवश्यक सूचना माग गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा रोजगार सेवा केन्द्रको अवस्था कस्तो छ र यसले कसरी काम गरिरहेको छ भन्ने कुराको जानकारीसमेत माग गर्नका लागि छलफल गर्नुपर्ने कारण उल्लेख गरिएको छ।

Logo