एमालेमा विधान संशोधनका लागि सुझाव संकलन सुरू, आत्मालोचना गर्न नेपाल पक्षकाे माग

एमालेमा विधान संशोधनका लागि सुझाव संकलन सुरू, आत्मालोचना गर्न नेपाल पक्षकाे माग


नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ। मुलुकको सङ्घीय संरचना अनुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले छलफल प्रारम्भ गरेको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सो अघि साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ। 

वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णयप्रति माफी माग्नुपर्ने लगायतका प्रस्तावबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले टिप्पणी गर्न नचाहेको बताए। उनले अनन्तकालसम्म पार्टीका गतिविधिलाई अवरुद्ध गरेर जान नसकिने पनि स्पष्ट गरे। 

बिहीबारदेखि काठमाडौँमा जारी नेता नेपाल पक्षको केन्द्रीय सदस्यको बैठकले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका थिए। नेता रघुजी पन्तले गत असार २७ गते विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको आधार र नेताबीचको लगातारको पहलका आधारमा एकता हुनुपर्ने तर शीर्ष नेतामाथिको लाञ्छना युक्त अभिव्यक्ति बन्द हुनुपर्ने बताए।

नेपाल पक्षको बैठक : नेतृत्वलाई आत्मालोचना गर्न माग

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ।

बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका हुन्। गत असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको लोकप्रिय छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ।

साथै अध्यक्ष ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुशी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बैठकमा प्रस्ताव गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले कार्यदलले समाधानका लागि सबै सवाल नसमेटेकाले त्यसबारे आफूहरु स्पष्ट हुन चाहेको र आत्मसम्मानसहितको एकताका पक्षमा कुरा उठाइएको बताए। उनले एकले अर्काेलाई अवहेलना र आरोपित गर्ने कार्यले सहजरूपमा काम गर्ने वातावरण नबन्ने भएकाले मनोवैज्ञानिक तथा भौतिकरुपमा सहज वातावरण निर्माण हुनुपर्ने बताए। नेता खतिवडाले पार्टीमा हार्दिकतापूर्वक सहयोगात्मक रुपमा सँगै काम गर्ने अवस्थाका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको मेल हुनु महत्वपूर्ण पक्ष भएको जनाए। 

Logo