गठबन्धन सरकारले सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रमलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समर्थन गर्ने भएको छ।
विश्वासको मत दिएर बनाएको सरकारले ल्याएको कार्यक्रमलाई समर्थन गर्नु राजनीतिक दायित्व भएको नेपाल पक्षको बुझाइ छ।
‘वर्तमान गठबन्धन सरकार हाम्रो पनि हो, अनि हामीले बनाएको सरकारले ल्याएको कार्यक्रमलाई हाम्रो पूरापूर समर्थन रहन्छ र हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ’, केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाङ्फेले केन्द्रविन्दुलाई बताए।
गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले शुक्रबार गठबन्धनमा रहेका विभिन्न घटकका शीर्ष नेताहरूलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएको थियो।
कार्यक्रममा कोभिड रोकथाम र नियन्त्रणका लागि खोपदेखि भूमिहीन दलित, अव्यस्थित बसोबासी र सुकुम्बासीलाई जग्गा वितरणसँगै नेपाल–भारत सीमा समस्या समाधानलगायतका लोकप्रिय कार्यक्रम समेटिएका छन्।
विस्तृत शान्ति सम्झौताका बाँकी काम, मधेश तथा थरुहट आन्दोलनको क्रममा जसपाका नेता कार्यकर्ताहरूमाथि लागेको झुटा मुद्दा खारेजीको पहलसँगै संविधान संशोधन र रोजगारीको सवालले पनि कार्यक्रममा स्थान पाएको छ।
गठबन्धन सरकारले यी कार्यक्रमलाई मात्रै इमान्दार साथ कार्यान्वयन गरिएको अवस्थामा सरकार सफल हुने निष्कर्ष कार्यदलको छ।





























प्रतिक्रिया