पौडेल पक्ष जिल्ला सभापतिहरुको भेलाः जसरी पनि तोकिएकै मितिमा महाधिवेशन गर्न माग

पौडेल पक्ष जिल्ला सभापतिहरुको भेलाः जसरी पनि तोकिएकै मितिमा महाधिवेशन गर्न माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरुले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन् ।

काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् । भेलाले क्रियाशील सदस्यहरुको छनौट सम्बन्धि विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । 

तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर विवादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ । पार्टीको वैधानिकता बचाउन जुन छिटो विधि हुन्छ त्यो विधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए। 

काठमाडौँको एक होटलमा २ दिनसम्म चलेको भेलामा ५६ जिल्लाका सभापतिहरु सहभागी भएको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए।  प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्ला सभापति आचार्यले बताए। 

पार्टीको विधान भन्दामाथि देशको संबिधान रहेकाले संविधान विपरित हुने काम नगर्न पार्टी सभापति देउवालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताए। भेलामा सहभागीहरुलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला होटल पुगेका थिए।

Skip This
Skip This
Logo