लुम्बिनी प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउँदैछ। नयाँ मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सांसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुँदैछन्।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा दाबी गरेको नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।
केसीलाई सरकार बनाउन चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको समर्थन छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु¥याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले बुधबार २४ घण्टाको समय दिएका थिए। त्यहीअनुसार ४१ सांसदसहित केसी मुख्यमन्त्री हुन लागेका हुन्।
मुख्यमन्त्री बन्न लागेका केसी रोल्पा क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। केसीसँगै मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का र विमला खत्री वली जाने सम्भावना रहेको स्रोतको दाबी छ।
त्यस्तै कांग्रेसबाट डिल्लीबहादुर चौधरी र जनता समाजवादी पार्टीबाट संसदीय दलका नेता सहसराम यादव सरकारमा जाने सम्भावना रहेको पनि स्रोतले बतायो।
तथापि राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेपनि सरकारमा जाने सम्भावना नरहेको बुझिएको छ।





























प्रतिक्रिया