नेपाली कांग्रेसका संस्थापनपक्षीय जिल्ला सभापतिहरुले इतरपक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् ।
ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।
बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले भने, ‘१४ औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल गर्यौं । हामीले महाधिवेशन १०÷१२ दिनमै सक्छौँ।’
सप्तरी जिल्ला सभापति दिनेश यादव तथा बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरुको फाइल खोल्नुपर्ने बताए ।
दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले बारा र सप्तरी जिल्लाका केही वडाहरुमा क्रियाशील सदस्यताहरुको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाए । उनले महाधिवेशन टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेको पनि धारणा राखे।
नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरुको विवाद नरहेको बताए । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उनको गुनासो थियो ।





























प्रतिक्रिया