लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार ४ बजे मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो।
विपक्षी गठबन्धनमा ४ पार्टी र स्वतन्त्र सांसदहरू सम्मिलित छन्। गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ।
को हुन् नयाँ मुख्यमन्त्री केसी ?
प्रदेश सभा सांसद दामा कुमारी शर्माका अनुसार केसीले नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति गर्न थालेका हुन्।
‘तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालन गर्न गठन गरेको जनमुक्ति सेनाका डिभिजन प्रमुख हुँदै केसी राष्ट्रिय राजनीतिमा उदाएका हुन्,’ शर्माले भनिन्।
विकट रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा सामेल भए। उनी २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भए ।
शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री समेत हुने मौका पाए।
केसी नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपामा केन्द्रीय सदस्य समेत बनेका थिए।
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध थिए । उनी २०५५ सालदेखि पूर्णकालीन माओवादी केन्द्र पार्टीमा लागेका हुन्।
केसी २०५९ सालमा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहे।
कडा उग्र अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहने केसीले नेपाली कांग्रेससँग सहमति गरेर ८ महिना सरकारमा रहने सर्त गरेका छन्।
शर्माका अनुसार केसी जनयुद्धबाट आएको नेता हुँदा सबैलाई मिलाएर लैजान सक्ने खुवी भएको नेता मानिन्छन्। उनले आन्तरिक मामिला मन्त्री हुँदै द्वन्द्वपीडितको लागि लोकप्रिय काम गरेको उनले केन्द्रबिन्दुलाई बताइन्।































प्रतिक्रिया