लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रको कमान्ड (भिडियोसहित)

लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रको कमान्ड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको पनि जनाइएको छ। 

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन्। नेपाल कानुन व्यवसायी परिषद्ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको प्रष्ट पारेका हुन्। 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताएका छन्। बिहीबार संसदमा बोल्दै राज्यमन्त्री श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको तथा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएसकिएको पनि जानकारी दिए।

नेप्सेमा निरन्तर तेस्रो कारोबारका दिन नयाँ अलटाइम हाइ रेकर्ड बनेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्सेले बिहीबार पनि नयाँ रेकर्ड बनाएको हो। गत मंगलबार नेप्से परिसूचक ३१६१.४५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हो। सो रेकर्डलाई नेप्सेले बुधबार तोड्दै अर्को रेकर्ड बनाएको थियो। त्यसैगरी, बुधबार बनाएको रेकर्डलाई बिहिबार तोडेर नयाँ रेकर्ड बनाएको हो। साताको अन्तिम कारोबारका दिन आज नेप्से परिसूचक १६.४१ अंक बढेर ३ हजार १सय ७९.०० विन्दुमा पुगेको हो।

फिफा वरियतामा नेपाली फुटबलको बरियतामा सुधार आएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको पुरुष फुटबल वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औं स्थानमा पुगेको हो। दक्षिण एसियामा यस महिना वरियता सुधार गर्ने नेपाल एक्लो टोली समेत हो।

Logo