आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।

बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समिति संयाेजक रमेश लेखक र पार्टी समायोजन समिति संयाेजक बिमलेन्द्र निधिले पेस गरेको प्रतिवेदनमाथि आज पनि छलफल हुँदैछ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेकाे निर्वाचन निर्देशिकासँगै सांगठनिक विषयमा पनि छलफल हुने भएको छ।

बैठकमा महाधिवेशन कार्यतालिका हेरफेर गर्ने पनि भनिएकाे थियाे। तर, महामन्त्री खड्काले त्यसबारे प्रस्ताव राखेनन्।

तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने महाधिवेशनबारे जारी केन्द्रीय कार्य समितिकाे बैठकले सहमतिमा निर्णय गर्ने बताएका छन्।

पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउन महाधिवेशनबारे सहमतिमा निर्णय गरेर अघि बढिने बताए।

यसअघि १६ देखि १९ भदाैसम्म ताेकेकाे महाधिवेशनकाे समय आउन तीन साता बाँकी छँदा महाधिवेशन हुने सम्भावना टरेकाे छ।

फेरि, २३ भदौभित्र महाधिवेशन कांग्रेसले गरिसक्नुपर्ने बाध्यता छ। 

वैधानिकताकाे संकटलाई टार्न गर्नुपर्ने महाधिवेशन उक्त मितिमा नहुने भएकाे अवस्थाबीच वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले भने विशेष महाधिवेशनकाे एजेण्डा अघि सारेकाे छ।

सभापति देउवा पक्ष भने ताेकिएकाे समयमा नभए ५० हजार जरिवाना तिर्ने र शून्य समय (६ महिना) मा महाधिवेशन गर्ने पक्षमा छ।

२०७६ फागुनमा चार बर्से कार्यकाल पूरा भए पनि विधानअनुसार थप गर्न मिल्ने एक वर्षकाे कार्यकाल कांग्रेसले प्रयाेग गरिसकेकाे छ। 

संविधानअनुसार विशेष परिस्थितिमा प्राप्त गर्न सकिने ६ महिनाकाे अवधि भने यही २३ भदौमा सकिँदैछ। त्यसपछि कांग्रेस अवैधानिक हुने भनिँदै आएकाे छ।

तर, कानुनविद्हरूले भने संविधानअनुसारको ६ महिने सुविधा प्रयाेग गर्नेबारे विधान संशोधन नगरिएकोले कांग्रेस अवैधानिक भइसकेको जिकिर गर्न थालेका छन्।

पटकपटक ताेक्ने र महाधिवेशन नगर्ने हुँदा कांग्रेस सकटग्रस्त स्थितिमा आइपुगेको हाे।

पार्टीका युवा नेताहरूले भने महाधिवेशन सुनिश्चितताकाे माग जारी केन्द्रीय समितिबाट हुनुपर्ने माग गरेका छन्।

सांसदसमेत रहेका नेविसंघ पूर्वसभापति रञ्जित कर्णले उक्त माग उल्लेखित ज्ञापनपत्र बिहीबार सभापति देउवालाई बुझाएका छन्।
 

Logo