सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले अतिवादी समूह तालिवानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकहरुको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन गम्भिर भइदिन सरकारको ध्यानाकर्षण गराएका हुन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरुलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउन जिम्मेवार भइदिन सरकारसँग आग्रह गरे।
उनले अफगानिस्तानमा ठूलो संख्यामा नेपालीहरु रहेको उल्लेख गर्दै उनीहरुको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटकपटक आग्रह गरे। नेता लेखकले भने, ‘अफगानिस्तानमा रहेका सबै विदेशी नागरिकहरु चिन्तामा परेका छन् । र ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेका छन्। ती नागरिकहरुको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितता गर्न सरकार गम्भिरतापूर्वक लाग्नु पर्दछ । त्यसका लागि आफूले प्रधानमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराउनेछु।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वेदश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गरे। उनले द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताउनु भयो । परराष्ट्रविदसमेत रहेका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्वहालीको मागसमेत गरे। उनले भने, ‘जीवन जोखिममा रहेका नेपाली नागरिकहरुको ढिला नगरी उद्धार गर्नुपर्ने हुन्छ। अरु मुलुकले उद्धार गरिरहेका छन्। नेपाली नागरिकहरुले अर्को एजेन्सीसँग काम गरिहरेका हुनाले नयाँ आइरहेको शक्तिहरुले उनीहरुलाई झनै मन नपराउने अवस्था छ। यस्तो अवस्थामा सरकारले नेपाली नागरिकहरुको उद्धारमा ढिलाई गर्न हुन्न।’
उता, परराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले अन्य देशका नागरिकलाई फिर्ता बोलाउन काम भइरहँदा पनि नेपाल सरकार त्यसमा संवेदनशील हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। परराष्ट्रविद् पाण्डेले भने, ‘कतिपय मुलुकहरुले आफ्ना नागरिकलाई फिर्ता बोलाउन लागि सके। हामीले पनि यसमा पहल गर्न जरुरी छ । ढिलाई भइसकेको छ । हाम्रा नागरिकहरु त्यहाँ कति छन्? त्यसको खोजी गरी उनीहरुलाई स्वदेश फिर्ता गराउन ढिलाई गर्न हुन्न।’
परराष्ट्रविद् पाण्डेले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य भएको नाताले नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए। उनले सार्कले पनि सदस्य राष्ट्रहरुको शान्ति बहालीका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए।





























प्रतिक्रिया