राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दु राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउने दावी गरेका छन्।
‘राप्रपा संसद अन्तर्गतको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्रमा विश्वास गर्ने दल हो। यी मान्यताका पक्षमा एक समय निकै राम्रो वातावरण बनीसकेको थियो। संसद विघटनको घटनाले देश र जनताको ध्यान अन्यत्र मोड्यो। तर त्यो राजनीतिक सम्भावना, आवश्यकता अझ पनि कायम छ,’ अध्यक्ष लोहनीले सोमबार सम्पन्न राप्रपाको कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै भने।
राष्ट्रिय आवश्यकताका आधारमा, राप्रपाले जनलहर ल्याउने, जनताको समर्थन प्राप्त हुने प्रशस्त आधार कायम रहेको उनको दावी थियो।
‘सडकमा आउँदा राप्रपाले जनसमर्थन प्राप्त गरेकै हो। स्वतःस्फूर्त प्राप्त समर्थनलाई कम गर्न आंकलन गर्न मिल्दैन। वातावरण मिलाए, अहिले पनि जनताले साथ दिनेछन्, त्यो सम्भावना अझ पनि कायमै छ,’ लोहनीले भने।
राप्रपा कुनै पनि दलको पुच्छर भएर होइन, आफ्नो स्वाभीमानमा अडेर अघि बढ्ने उनले बताए। ‘आवश्यकता अनुरुप चुनावी गठबन्धन गर्नु नै पर्दछ। तर गठबन्धन गरेकै आधारमा कुनै दलको पिछलग्गू भएको भनेर सोच्नु हुँदैन,’ वैठकलाई सम्बोधन गर्दै लोहनीले भने।
राप्रपा अब फुट्दैन भन्दै उनले भने, ‘महाधिवेशन पछि राप्रपा दुई फ्याक हुन्छ कि भन्ने आशंका होला, निश्चिन्त रहे हुन्छ, अब पार्टी विभाजन हुँदैन। हामीलाई त्यो सुविधा प्राप्त छैन।’
आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ। राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ।































प्रतिक्रिया