सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश (भिडियोसहित)

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पेश गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर नयाँ दल दर्ता गराउन सक्ने गरी सरकारले अध्यादेशका लागि सिफारिस गरेको हो। यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुग्नुपर्ने व्यवस्थामा अब २० प्रतिशत संख्या पुर्याए नयाँ दलको मान्यता पाउने व्यवस्था गरिएको हो। अध्यादेश आएसँगै जसपा महन्थ ठाकुर पक्ष र एमाले माधवकुमार नेपाल पक्षलाई सहज हुने देखिएछ। तर, अध्यादेशका लागि सिफारिस गरिएसँगै यसको चौतर्फी विरोध र आलोचना सुरु भएको छ। सत्तारुढ दल भित्रै पनि यसको विरोध भएको छ भने प्रतिपक्षी दल र यसका जनवर्गीय संगठनहरूले पनि अध्यादेशका विरुद्धमा सशक्त कदम चाल्ने चेतावनी दिएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि एमालेले १४ सांसद्माथि कारबाहीको प्रक्रिया अघि बढाएको हो। यता, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले एकताका सबै ढोका बन्द भएका र एमालेलाई पुनर्गठन गर्ने बताएका छन्। उनले एमाले विभाजन गर्न केपी ओली आफैं लागिपरेको आरोपसमेत लगाएका छन्। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताएका छन्। प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा बोल्दै निर्देशक घिसिङले हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको र अब सबै नागरिकलाई बिजुली पुर्याएर मात्रै नहुने भन्दै उनले विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको समेत बताएका छन्। 

अफगानिस्तानको राजधानी काबुलबाट १२७ जना नेपाली नागरिक दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगे छन्। अफगानिस्तानमा अतिवादी समूह तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँको माहोल विग्रिएको र त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो। त्यहाँको माहोल अत्यन्तै चिन्ता जनक रहेको बताउँदै नेपाल फर्किएका नागरिकहरूले अन्य नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

झापास्थित गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/नगराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। ओली नेतृत्वको अघिल्लो सरकारले गत बैशाख १३ गते मन्त्रिपरिषदको बैठकबाट सो कम्पनीको जग्गा सट्टापट्टाका लागि स्वकृति दिने निर्णय गरेको थियो। तर त्यो निर्णय भूमि व्यवस्था ऐन र भूउपयोग ऐन प्रतिकूल रहेकाले सो निर्णय कार्यान्वयन नगर्न/नगराउन सरकारलाई समितिले सचेत गराएको हो।

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ। नेपालमा आज ३ हजार २७४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३७ हजार २९४ जना र एन्टीजेन परीक्षणबाट ७६ हजार ८३३ जना पुगेको छ। आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ। 

Logo