डा. केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्‍त्रीसँग कांग्रेसको माग

डा. केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्‍त्रीसँग कांग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन् ।

देउवाले प्रधानमन्त्री केपी ओलीलाई डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न अपील गरेका हुन् । आइतबार विज्ञप्ती सार्वजनिक गर्दै देउवाले केसीका माग पूरा गरेर जीवनरक्षा गर्न अपील गरेका छन्।

‘जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले सुरुमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डा. केसीले २०७५ साउन १० गतेको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन हुनु पर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थामा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउनु पर्ने लगायतका माग गरेका छन्।

भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा २१ दिनदेखि अनशनरत छन्।

देउवाको अपील

डा. के.सी.सँग अविलम्ब वार्ता गरि माग पूरा गरेर उहाँको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील ।

डा. गोविन्द के.सी.को अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ ।

चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन् । जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले शुरूवातमा डा. के.सी.प्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ ।

०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको सर्वविदितै छ । समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको थियो भने कार्यदलको सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाएको थियो । डा. के.सी.का मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश” ०७४ कार्तिक २४ मा जारी गरेको थियो । तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो ।

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. के.सी.सँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो । अतः फेरि पनि संवाद मार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।

डा. के.सी.को जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।

जय नेपाल !
शेरबहादुर देउवा
सभापति

 

 

Logo