पाठकवृन्द, केन्द्रबिन्दु समाचारमा हामी दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचार सम्पे्रषण गर्छौं। प्रस्तुत छ, आजको प्रमुख समाचारः
चौतर्फी विरोधका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरी जारी गरेकी छिन्। बुधबार दिउँसो साढे एक बजे राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यलयले जानकारी दिएको हो। यो अध्यादेश जारी भएसँगै माधव नेपाल समूह र महन्थ ठाकुर समूहलाई नयाँ दल खोल्ने बाटो खुलेको छ। यता, एमाले अध्यक्ष ओलीले मङ्गलवार नेपाल सहितका १४ जना सांसदलाई पदबाट हटाउन संसद् सचिवालयलाई पत्र लेखेपनि पत्रबारे सभामुख अझै मौन बसेका छन्।
नेकपा एमाले र जनता समाजवादी पार्टी आधिकारीक रुपमा फुटेको छ। निर्वाचन आयोगमा दुबै समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै दुबै पार्टी आधिकारिक रुपमा फुटेको हो। दल विभाजन अध्यादेश राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गरिदिएसँगै उनीहरूका लागि नयाँ दल खोल्ने बाटो खुलेको हो। अध्यादेशले महन्थ ठाकुर पक्षलाई फाईदा पुगेको भएपनि माधव नेपाल समूहलाई भने घाटा भएको छ। माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा उनी निकट दोस्रो तहका कोही पनि नेता सहभागी छैनन्।
नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएपछि सामाजिक सञ्जाल ताली र गालीले रंगिएको छ। केहीले माधव नेपालको पार्टी फुटाउने कदमको खुलेर प्रशंसा गरेका छन् भने केहीले गद्दारको उपमा दिएका छन्। त्योसँगै एमाले पार्टीका शीर्ष नेतादेखि अन्य नेता कार्यकताले विरोध गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन्। अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनभित्र निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताए।
अफगानिस्तानमा दोस्रो पटक नियन्त्रण हासिल गरेपछि तालिबानले पहिलो पत्रकार सम्मेलन मंगलवार काबुलमा गरेको छ। तालिबानका प्रवक्ताले २० वर्ष लामो संघर्षपछि आफूहरुले देशलाई स्वतन्त्र बनाएका दाबी गरेका छन्। उनले छिटै नै अब विदेशीलाई देशबाट निकाल्ने पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिए। प्रवक्ताले यसलाई पूरै देशका लागि गौरवको क्षणका रुपमा व्याख्या गरेका छन्।































प्रतिक्रिया