माधव नेपालमाथि ओलीको आरोपै आरोप: एमाले फुटाएर कचौरा जत्रो पार्टीको अध्यक्ष बने (भिडियो)

माधव नेपालमाथि ओलीको आरोपै आरोप: एमाले फुटाएर कचौरा जत्रो पार्टीको अध्यक्ष बने (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताएका छन्। भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै ओलीले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या पुर्याउन नसकेको बताए। 

संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि २० प्रतिशत हुने गरि अध्यादेश आयो, हामीले अलिकति मिहेनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, उनको पार्टी दर्ता हुन पनि पाउँदैन । ओलीले भने। ओलीले सरकार विद्यार्थीको प्रदर्शनमाथि दमन गरेर आफ्नो चरित्र प्रदर्शन गर्न लागेको भन्दै एमालेलाई सरकारी दमन सैह्य नहुने चेतावनी दिए। 

त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि आरोपै आरोप लगाएका छन्। नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यसक्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको उनको आरोप छ। त्यस्तै नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा होस्, पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको उनले बताए। 

माधवकुमार नेपालको एकमात्र उद्देश्य एमाले फुटाउनु नै रहेको ओलीको भनाइ छ। आफूले एकताका लागि बारम्बार प्रयास गर्दा पनि माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको उनले प्रस्ट पारे। नेपालले सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदा हुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप छ। 

एमालेले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाउँदा माधवकुमार नेपालले विपक्षीसँग साँठगाँठ गरेर अर्को उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गरेको भन्दै ओलीले एमालेकै नेतृत्वमा रहेको संघीय सरकारलाई पनि अनेक ढंगले विस्थापित गर्न भूमिका निर्वाह गरेको आरोप लगाए। ओलीले नेपाललाई पार्टीमा फर्काउन पार्टी एकता कायम राख्नका लागि वार्ता समिति बनाउँदै गरेको, कार्यदल बनाउँदै गरेको, के के चाहियो भनेर उनीहरुसँगै सोध्दै गरेको भन्दै ओलीले आफ्ना हरेक प्रयास बाबजुद पार्टी एक ढिक्का राख्न नसकेको बताए।

त्यस्तै अध्यक्ष ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो, आउनुस्, काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इर्श्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ओलीले भनेका छन्। अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे।

Logo