हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको सत्ता गठबन्धनको बैठकले सभामुख सापकोटामाथि नेता ओली र सोही दलका सांसदहरुले सभामुखकै कार्यकक्षमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो। सभामुख विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि गठबन्धनले सचेत गराएको छ ।
पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले नेताहरू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति जुटेको छ। ओली निवास बालकोटमा सोमबाबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्ने सहमति भएको हो। बैठकले माधव नेपाल पार्टीमा नफर्किने निष्कर्ष समेत निकालेको छ। १० बुँदे कार्यान्वयन गर्ने मोडालिटी बनाउन एमालेले मंगलबारलाई स्थायी कमिटीको बैठकसमेत बोलाएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पाए। प्रदेशसभाका ८० सांसद रहेको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले भने बहिस्कार गर्यो । एमालेले आफ्नो सांसद अजय शाही र विमला कुमारी खत्री वलीलाई प्रकृया पुर्याएर कारवाही गर्दापनि सभामुखले नमानेको भन्दै पहिलो चरणमा संसद अवरुद्ध र केसीले विश्वासको मत मागेकोवेला अनुपस्थित रहे।
आज गाईजात्रा। नेपालका नेवार समूदायहरुको बाहुल्यता रहेका विभिन्न ठाउँमा धुमधामसँग गाईजात्रा मनाइएको छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मानिसलाई गाई जस्तै गरी सिँगारेर शहर परिक्रमा गरेर वर्ष दिन भित्र दिवंगत भएका आफन्तहरुले वैतरणी पार गर्ने मान्यता अनुसार गाईजात्रा मनाईएको छ। गाईजात्राकै दिन हास्यव्यंग क्षेत्रमा लागेका कलाकारहरूले पनि व्यंग्यात्मक रचना र प्रस्तुति दिएर गाईजात्रा मनाउने गरेका छन्। तर, सरकार र राजनीतिक दलहरूले ३६५ दिननै गाईजात्रा देखाएको हुँदा एक दिने गाईजात्रा फिका भएको भन्दै कलाकारहरूले व्यंग गरेका छन्।
अफगानिस्तानबाट अमेरिकाले आइतबार एकै दिन १७ सय मानिसलाई उद्धार गरेको छ। ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका हुन्। उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको संख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन्। यता अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ।





























प्रतिक्रिया