वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको दावी गरेको छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले राष्ट्रिय गौरवकोआयोजनालाई दू्रतगतिका साथ अघि बढाउन विद्यमान ऐनले समस्या खडा गरेको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढ्न ढिलाई गर्न नहुने बताएका हुन् ।
मंगलबार राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा हुलाकी राजमार्ग निर्माण कार्यमा देखिएका समस्या समाधानका बारेमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।
पौडेलले भने, ‘वनसम्बन्धि सबै कामको जिम्मेवारी प्रदेश सरकार मातहत पर्दछ । हामीले नेपाल सरकारको निर्णय गरेर वन विभागमा सम्झौता गरेर कार्यन्वयनका लागि फिल्डमा पठाउँछौं । तर वनको जग्गा दिने, रुख कटान गर्न दिने सबै कार्य प्रदेश सरकारले गर्दछ । यसले राष्ट्रिय गौरवको आयोजनालाई फाष्ट ट्रयाकमा लैजान ऐनमा नै संशोधन गर्नुपर्ने देखिन्छ ।’
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले पनि राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्राथमिकताका साथ अघि बढाउन अन्तरमन्त्रालय भित्रै जटिलता देखिएको उल्लेख गर्दै त्यसलाई सहज बनाउने काम गरिदिन संसदीय समितिहरुलाई आग्रह गरे ।
बैठकमा समितिका सभापति रामनारायण बिडारीले सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यसचिवसहितका सरोकारवाला निकायसँग छलफल गरेर राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन देखिएका समस्या समाधान गरेर अघि बढ्ने बताए ।





























प्रतिक्रिया