‘माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्न दिएनन्’ : प्रधानमन्त्री ओली

‘माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्न दिएनन्’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सरकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताएका छन् ।

भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्वारा काठमाडौंमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सरकारको प्रयासमा बाधा पुर्याएको बताएका हुन् । माधवकुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिदै उनले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उनीहरुलाई ‘छलफलवाला मान्छे’ को संज्ञा दिए । उनले पार्टीमा शुद्धिकरण आवश्यक रहेको र शुद्धिकरण आवश्यक रहेकाहरु आफैं किनारा लागेको बताए। पार्टी छोडेर पार्टीमा गएकाहरुले आफ्नो अभिष्ट पूरा गर्न नेपाल बन्द गरेर जनतालाई दुःख दिने काम गरेको बताए ।

आफूलाई कम्युनिष्ट र क्रान्तिकारी भन्नेहरु नै आफ्नै पार्टीलाई धुलो बनाएर अरुसँग घुँडा टेक्न पुगेको टिप्पणी प्रधानमन्त्रीले गरे। प्रधानमन्त्रीले शुक्रबारको सभामा आउन सबैलाई निम्तो पनि दिए । केही मान्छेहरु सरकारलाई असफल बनाउन लागि परेपनि सरकार आफ्नो उद्देश्यमा कटिबद्ध रहेको स्पष्ट पारे।

उनले सुकुम्बासी समस्या समाधानको विषय मुलभूत विषय भएको भन्दै सरकार समस्या समाधान गर्ने काममा लागेको स्पष्ट पारे । उनले सम्पूर्ण नेपाली जनताको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली रहेको र त्यो आकांक्षा पूरा गर्न सबै नेपाली समृद्धि हुनु पर्ने र त्यसको हिस्सेदार सबैले प्राप्त गर्नु पर्ने बताए । उनले सुख प्राप्तिका सबै मापदण्ड सबै नेपाली समक्ष पुगे मात्रै सबै नेपाली सुखी हुन सक्ने बताए । हरेक व्यक्तिले सम्मानित, सुरक्षित र भयरहित जीवन बाँच्न पाउने अधिकार प्राप्त भए मात्रै सुखको अवस्था हुने भन्दै उनले सुकुम्बासी, भूमिहिन दलित, कमैया लगायतका समस्याको समाधान नभईकन सरकारको उद्देश्य पुरा नहुने भएकाले सबै प्रकारका गरिबी हटाउने प्रयासमा सरकार लागेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या लगायतका समस्या समाधान गर्न भूमि व्यवस्था आयोग निर्माण गरेको र त्यो आयोगले देशव्यापी रुपमा पूर्णता पनि पाइसकेकाले छिटै भूमि सम्बन्धी समस्याको अन्त्य हुने प्रतिवद्धता जनाए ।

Logo