सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोलि बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन्।
सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने प्रतिक्रिया दिएका हुन्। आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन भइसकेकाले अब सरकारलाई पूर्णता दिने काममा ढिलाई गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।
नेता विश्वकर्माले भने, ‘सायद भोलि बेलुकासम्म सरकार विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ । ढिलो किन भयो ? भन्ने कुरा चाहीँ दलहरुबीचको बैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरुबीचको केही सहमतिको कुरा हो । अहिले सहमति पनि भइसकेको छ। दल निर्माण पनि भइसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अव ढिलाई हुँदैन।’
नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुने आफूले जानकारी पाएको बताए। कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटा र सत्तारुढ दल नेपाली कांग्रेसको चर्को आलोचना गरे । उनले सभामुखले आफ्नो दलले कारबाही गरिसकेका सांसदहरुलाई बैधता दिएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा सघाउ पुर्याएको आरोप लगाउँदै भने, ‘सभामुखले नगर्नुपर्ने काम गरेका छन्। त्यसका विरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन पनि सक्छ।’
नेता थापाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको निर्माण अवैधानिक ढंगले भएको जिकीर गर्दै त्यसविरुद्ध आफूहरु सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए।





























प्रतिक्रिया